मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Saturday, November 8, 2014

ढकुली


Veekay Pandey, Arghatosh, Arghakhanchi, Suryathum
स्थान: यतै कतै :)
दर्दर पानी परिरहेको थियो। घरको छानोबाट खसेको पानी पालीमा ठोक्किएको आवाजले पारीबाट कसैले बोलाएको सुनिन्थेन। बिहानको नौ बजिसकेको थियो। खाना खाएर स्कुल ड्रेस लगाउन बाकीं नै थियो। पानी परेको बेला खासै केही काम हुन्थेन तर स्कुल जान सधै ढिला हुन्थ्यो। पानी पर्दाको दिन घरका प्राय चप्पल ओभाना हुन्थेनन्। आफ्ना चप्पल चिसा भए अर्काका ओभाना चप्पल लगायो हिंड्यो अन्त्यमा सबै चिसा। चिसा चप्पल लगाउन भन्दा ओभानो पिंढीमा खाली खुट्टा हिँड्नुमै बेश। पिसाब फेर्न घरको पिंढी टेक्दै उ घरपछाडी पुग्यो। घरपछाडी छुट्टै संसार थियो, घर अगाडिको जस्तो टिनमा खसेको पानीको आवाज त्यहाँ थिएन। कर्कलाको पातमा किम्बुका रुखबाट खसेका ठुलठुला थोपाको आवाज छुट्टै थियो। मुत्न पनि आनन्दले पाएन! पल्लो डाँडामा हेर्दा स्कुलेहरु स्कुलमुन्तिर तिरबाट निस्कन थालीसकेका थिए, उसले ढकुलीलाइ पनि ठम्म्याइ हाल्यो। ढकुली उमेरले उ भन्दा जेठी थिइ। सुरुमा उनीहरुबीचको क्लासको अन्तर पनि धेरै नै थियो। ढकुली अन्तर मिलाएर फेल हुँदै पास हुँदै गर्थी, उ लगालग पास भयो, यही साल उसले भेट्टाएको थियो। ढकुली आजकाल क्लासमा आउन मन गर्न छाडेकी थिइ। “आइछे आज त!” मनमनै उसले सोंच्यो। उसलाई पनि स्कुल जान हतारको आभास भयो। छाता त थियो तर कर्कलाको पात ओढ्यो, स्कुलनेर पुगेर पात फाल्यो खुरुरु दौडिएर क्लासमा छिर्यो आनन्द! प्राय कमैले छाता ओढथे, धेरैजसोले पानीतारा अनि अरुले केरा वा कर्कलाका पात। “आज कर्कलाको पात ओढेर जानुपर्ला” उसले कर्कलाको गांजबाट ठुलो पात भएको कर्कलाको डांक्लो रोजिसकेको थियो।

कथाले समेटेको स्कुल
बर्षातको मौषम! चिप्लो बाटो, मकैको झुंड़ी.. पानी पर्दा त जुन बेलापनि साँझपखको जस्तै अँध्यारो हुन्थ्यो। “पारीटोलामा पहिरो गयो रे!” राइला’बा पारीबाट कराउंदै आए। “स्कुल नजाओ बाबु!” उनले भने, उ डराएर गएन।

पानी बिदो भयो- हल्का घाम लाग्यो- रात पर्यो- बिहान भयो- मज्जाले घाम लाग्यो।

आज विश्वकप फुटबल आउंछ रे! हेर्नलाई देउराली जानुपर्छ.. उसले साथीहरुसंगै स्कुलको अन्तिम क्लास छोडेर फुटबल हेर्न जाने प्लान बनाइसकेको थियो। छैठौं पिरेडको घन्टी बजेर नसकिंदै साथीहरुसंगै उ दौडियो। उसले रातो छाते टोपी लगाएको थियो। छाते टोपीमा यामाहा लेखिएको थियो, पछाडीपट्टीको भाग चाहिँ लामखुट्टेको झुल जस्तै थियो। उ खुट्टामा चप्पल नलगाइ धेरै पटक हिंड्यो तर त्यो छाते टोपी! अँ हँ.. किनेदेखी एक पटक छुटाएन।

ट्याक्टरका पांग्राले बिगारेको बाटोमा धुलो उडाउँदै हिंड्न कम्ता मज्जा आउन्नथ्यो। अझ पछाडी केटीहरु हुनुपर्छ, गोल्डस्टार जुत्ताले धुलो उदाउँदै दौडिन्थे केटाहरु। “बाँदर केटाहरु!” केटीहरु गालि गर्थे। दौड्दै जाँदा उसको छाते टोपी हावाले उडाएर पर पुर्याइदियो। ढकुली खित्का छोडेर हाँसी। “बल्ल खायो” ढकुलीले अरु केटाहरुको रिस पनि उसैलाई पोखी। उसले विश्वकप हेर्न ढकुलीकै गाउँ जानुपरेकाले “हाँस्छेस् बाँदर्नी!” भन्दै चुल्ठा नचाउने हिम्मत त्यस दिन गरेन।

ढकुली हाँसीराखेकै थिइ। उ रातो पिरो हुँदै पछाडी फर्कियो अनि टोपी टप्प टिप्यो। हाँसो उ पर पुग्दासम्म रोक्किएन.. :)