मुर्रा |
“खुशी हुने बाहना कतै केही छैन!” उसले गिंलासको रक्सी
घुटुक्क पारेर भन्यो।
“खासमा के भएको हो र?” साइँलाले उत्साहपूर्वक सोध्यो। उसले
केही बोलेन, टाउको नसाको तालमा हल्लाइरह्यो। दिनभरी पहारिलो घाममा तास खेल्दा उसको
कालो अनुहार झन् कालो भएको थियो, “आज हारेछ क्यारे पुरै कालो छ.। भैंसीजस्तै!” - साइँलाले
सोंच्यो तर केही बोलेन।
साउनी भट्ट थपिदेउ त! उसले अलिक कड्केर भन्यो। “छैन भट्ट”
साउनी पनि कड्किइ। “त्यसोभए अदुवा हाल्देउ” उसले थप्यो। बाँकी रहेको आधा गिंलास
त्यही अदुवासँग तुर्यो अनि निस्कियो।
अँध्यारो बाटो तर हिंडिराखेको, बत्तिबिना नै धंगधंगाउँदै
हिड्यो। घरनेर आइपुग्दा पारीबाटै गोठमा भैंसी कराएको उसले सुन्यो। “नकरा डाङ्ग्रा!” उसले भैंसी कराएकोमा झर्को मान्दै करायो। घरमा आइपुग्दा चुंडीएका चप्पल उसका हातमा थिए। आफैलाइ सम्हाल्न गारो हुँदा पनि
चप्पल बिर्सेनछ – उ आँगनमा पुगेपछि अघिसम्म पीर मान्दै बसेकी बुढी भित्रबाट फुत्फुताउँदै
निस्कीइ। राति ९ बजे सम्म पनि नदुहुंदा कल्चौंडा पग्रेर भैंसी कराइराखेको थियो, उ
घरमा आइपुगेको आभास पाउनासाथ भैंसी झन् डोड्डायो। बुढीले भैंसी दुहुन जान्दिनथी। भैंसी एकहाते थियो, छिमेकीले दुहुन
सक्दैनथे। उ धंगधंगाउँदै गोठतिर गयो। पाडो फुकायो, पाडो दौडीदै कल्चौंडामा झम्टियो।
बुढीले भित्र गएर बाल्टिनको टुप्पातिर नौनी घिउ टाँसेर ल्याइदिइ अनि फुत्फुताउँदै
घरभित्रै छिरी। भैंसीले पाडालाइ दुध दियो तर उसलाइ दिन मानेन। उ रिसाउँदै मुखमा
राखेको चुरोटको ठेटो भैंसीको कल्चौंडामा ठोसिदियो। भैंसी उफ्रियो, अब त झनै दिएन।
भैंसीलाइ बाल्टीले हिर्कायो, लाठोले हिर्कायो। हिर्काउँडाको पीडाले भैंसीले मुख
बाह्यो, तुर्र मुत्यो, थच्च बस्लाजस्तो गर्यो तर पनि गिठीको खाँबोमा प्लास्टिकको
दाम्लोले बलियोसंग बाँधिएको भैंसीले डेग चालेन। पछी बुढी आइ.। “नपिट्नुस् बिचरा!
आफैले जाँड धोकेर यतिबेला आउने” भन्दै किलामा बाँधिएको पाडो फुकाइदिई। त्यो दिन
सबै दुध पाडाले खायो।
उ बिहान अलिक ढिला नै उठ्यो।
उठ्नासाथ गिंलासमा कागती टरर्र निचर्यो तामाको गाग्रोबाट पानी सार्यो अनि खायो। उसले
रसेडामा पानी तताउंदै थियो, बाखोमाइलो गोठको काम सबै सकाएर आइपुग्यो। पानी
तातिसकेपछि उसले एक्लै ताउलो उचालेर भैंसी सम्म पुर्यायो। बाखोमाइलो पनि उसंगै
गोठतिर हानियो। “के भएछ भैसीलाई!” भैंसीको ढाडमा लागेको घाउतिर इशारा गर्दै बाखोमाइलोले सोध्यो। “कागले ठुँगेहोला नि जेमराजलाई” - कागले टोकेजस्तो बिल्कुल
नदेखिने घाउलाइ त्यही भनेर टार्यो। बाखोमाइलोले पनि कुरो बुझ्यो, केही बोलेन।
(पशुपीडामा आधारित लघुकथा)
No comments :
Post a Comment