मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Sunday, February 18, 2018

New Nepali Song: Hikka Hikka

कति जाति हुन्थ्यो प्रिये, सम्झ्यौ भने ठिक्क ठिक्क
उता तिम्रो धड्कन बढ्दा, आउँथ्यो यता हिक्क हिक्क

भन्दिन म सम्झ धेरै, तिम्रो आफ्नै सुर्ता होलान
कहिलेकाहीं त अरुले नि, तिम्रो बाटो कुर्दा होलान
डर लाग्छ हाम्रो माया, हुने हो कि फिक्का फिक्का
उता तिम्रो धड्कन बढ्दा, आउँथ्यो यता हिक्क हिक्क

मिल्न पनि गाह्रो नै छ, छुट्न पनि गाह्रो रै छ
टाढा भई लाको माया, जुट्न झनै गाह्रो रै छ.
कैलेकाहीं त लाग्दोहोला, तिमीलाई पनि दिक्क दिक्क
उता तिम्रो धड्कन बढ्दा, आउँथ्यो यता हिक्क हिक्क

शब्द - विजय कुमार पाण्डे
स्वर, संगीत - जिबिहाङ् राई




Hikka Hikka New Nepali Song Promotional Cover Photo (Lyricist Version)

Sunday, October 9, 2016

पोस्टकार्ड


आजजस्तो फेसबुक त्यतिबेला कहाँ थियो र ? सायद जुकरबर्गको दिमागमा स्वरूप धारण गर्न समेत भ्याएको थिएन होला ! म भने १५ वर्षको भइसकेको थिएँ । भदौ लाग्न नपाउँदै मैले दसैँका दिनगन्ती सुरु गर्न थालिसकेको हुन्थें । वर्षाको समय, त्यसमाथि घर वरिपरिको डिलमा लगाएका तितेकरेला, घिरौंला, काँक्राको झ्यालले घर नै अँध्यारो भएको हुन्थ्यो । कुनै दिन आकाशबाट बादल हट्यो भने यत्तिकै जताततै चम्किलो भएझैँ लाग्थ्यो र मैले भन्थें, “दसैँ आउने बेला भयो !” ‘भदौ हो गधा, अहिल्यै आउँछ दसैं ?’ बुबा भन्नुहुन्थ्यो । हजुरबा भने मजस्तै हौसिनुहुन्थ्यो र भन्नुहुन्थ्यो, “ल अब आउन लाग्यो दसैँ !” 

दिन बित्दै जान्थ्यो, घर अगाडिका मकै छिप्पिँदै जान्थे । हरेक दिन पोलेर खाँदा खाँदै विस्तारै मकैको झुँडी पनि सकिँदै जान्थ्यो, घर उज्यालो हुँदै जान्थ्यो, अनि दसैँ आँगनमै आइपुग्थ्यो  हरेक साल । 


Tuesday, February 9, 2016

हावापुराणे स्त्रीलम्पटखण्डे किस्ड़ेमाहत्मे

विजय कुमार जी आज्ञा गर्नुहुन्छ। हे! अस्तव्यस्तमुनी! 

एकादेशमा एउटा अभ्यस्त हस्तमुनी नाम गरेका ऋषि बस्दथे। ती ऋषि कस्ता भने कुनै ठेगान नभएका, कहिले चिटिच्याट्ट परि बाटोमा हिंड्दै गरेका भेटिने, कहिले राता राता आँखा गराएर पुल मुन्तिर गाँजा तान्दै गरेका भेटिने, कहिले मुख समेत नधोएर मध्य दिनसम्म आफ्नै कोठाभित्र ओछ्यानमा पल्टेर अँग्रेजी सिरियलहरू हेर्दै गरेको अवस्थामा भेटिने उनको बर्णन गर्न उनकै जन्मदाता आमा र कर्म दाता बाबा लगायतले समेत नसकेको मैले कसरि सक्नु! तर हे अस्तव्यस्तमुनी तिमीले अत्यन्त रुचिसाथ आग्रह गरेकै कारणले उनको बारेमा मेरो ज्ञानबिबेकले भ्याएसम्म वर्णन गर्ने प्रत्यन गर्दछु, ध्यान दिएर सुन। 


पृथ्वीलोकका केही खैरा बाहुल्य मान्छेहरुले आजभन्दा एकदमै धेरै वर्ष अगाडि बैशाख, जेठ, असार, साउन लगायतका बाह्र महिनाहरुलाइ रोमन क्यालेण्डर तथा जुलियन क्यालेण्डरलाइ समेत आधार बनाएर जनवरी, फेब्रुअरी, मार्च यवं यवं गरि ठ्याक्कै बाह्र महिनामै आफ्नै किसिमले विभाजन गरे। अब बाह्र महिनालाइ ठ्याक्कै त्यस्तै गरेर विभाजन गरेपछि त नेपाल प्रतिलिपी अधिकार ऐन अनुसार कारबाही हुनसक्छ त्यसो भयो भने हामीहरुको अनर्थ निश्चित छ र त्यसलाइ टार्न हाम्रा दसौं पुस्ताहरुले समग्रमा हजार वर्ष तपस्या गरेपनि मुस्किल पर्छ भन्ने बुझेर ग्रिरोरियन नाम गरेका खैरा ऋषिले विभिन्न किसिमका कपोलकल्पित कथाहरु बनाएर तिनै कथाहरुलाइ वास्तविक देखाउन महत्वपूर्ण तिथिमितिहरू थप्ने क्रममा फेब्रुअरी महिनाको १४ तारिखलाइ भ्यालेन्टाइन दिवस अर्थात प्रेम दिवसका रुपमा मनाउँदा भए। प्रेम दिवस कसरि मनाउने भन्दा बाटो बाटोमा चोक चोकमा चुम्माचाटी गर्दै छलछाम नानाभाती अनेकन अनेकन तरहका तिकडम लगाएर केटाले केटीलाइ केटीले केटालाइ सकेजति आश्वासन देखाएर सके जुनीजुनीलाइ नभए महिना दिनलाइ र त्यति पनि नसके जति सकिन्छ त्यति दिनलाइ प्रेम गर्दा भए। त्यो प्रेम गर्ने शिलशिला चैतमासको डढेलो फैलिएजसरी यसरी फैलियो कि नेपाल लोकमा पनि आइपुग्यो। नेपाल लोकका मानिसहरु झन् खर्रिएका हुनाले त्यो आगो अन्यत्रभन्दा बेशी हुर्हुर भयो। 

Thursday, January 21, 2016

तान्न नसकेदेखि पानी पहराबाट!

मुक्तक:
तान्न नसकेदेखि पानी पहराबाट...
हरियाली हराएको छ लहराबाट।
सुन्ने मन थ्यो त्यो आवाज मरुभूमीमा...
जो निस्कने गर्छ केवल छहराबाट!