मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Friday, March 14, 2014

वसन्तपुरको खल्लो प्रतिबिम्ब

वसन्तपुरको सौम्य वाताबरण म बानेश्वरमै कल्पना गर्दै थिएँ। जाडोको समय घामसंग मितेरी गाँस्न छतको सहारा लिइरहेको बेला कलेजको साथीले वसन्तपुर घुम्ने प्रस्ताव गर्छ। सहज स्वीकार गरि हतार हतार बानेश्वर चोकमा पुग्दा साथीहरु आइपुगेका थिए। चार जना मध्ये तीन जनाले हिंडेर जाने भनेपछि बहुमतको कदर गर्दै हामी हिंडेर जाने निर्णयमा पुग्यौं। बानेश्वरबाट बबरमहल, माइतीघर, भद्रकाली, सैनिकमंच हुँदै न्युरोड गेट पुग्दा पर्यटन बर्षको झल्को मज्जाले देख्न पाइयो। पर्यटन बर्ष सफल हुने सहज अनुमान जो कोहिले पनि न्युरोड गेटमा गर्छ सायद।

वसन्तपुर पुग्दा न्युरोड गेटको उत्साह धेरैबेर टिक्न सकेन। कलेज बक गरेर सौम्य, शान्त र सुन्दर वसन्तपुरमा रमाउने बानि परेका हामि वसन्तपुरको अवस्था देख्दा एकाएक निराश भयौं। वसन्तपुर सदाको जस्तो भद्र र आकर्षक थिएन। वसन्तपुरमा पर्यटक र अन्य सर्वसाधारणभन्दा माग्नेहरुको घुइचो बढी थियो। पर्यटन बर्षको औपचारिक घोषणापछिको दोश्रो दिन वसन्तपुर त्यति कुरूप देखिन्छ भन्ने मैले कल्पनै गरेको थिइन। सायद त्यो दृश्य देख्दा वसन्तपुरमा घुम्ने जो कोहि नेपालीको शिर लज्जाले झुक्छ। बिचार बाह्य पर्यटकहरु! सगरमाथाको देश र बुद्ध जन्मेको देशमा मगंतेहरुको थाल, कचौरा र हात चिचोल्नुपरने बाध्यता पर्ला भन्ने तिनीहरुलाई के थाहा! क्या बात हामी नेपाली!
Basantapur, Kathmandu, Veekay Pandey
Basantapur Ko Khallo Pratibimba



पर्यटकहरुको सधैं प्रिय वसन्तपुर
माग्ने हरुको बीचमा निरीह वसन्तपुर
वसन्तपुर आज अस्तित्व खोजिरहेछ,
भन्छ क्यामेराको फ्ल्यासमा हाँस्न चाहन्छु म
वसन्तपुर हुँ म, वसन्तपुर भइ बाँच्न चाहन्छु म

पर्यटन बर्ष आयोजना हुनु ठुलो कुरा हो। यस्ता कार्यक्रम आयोजनाले देशको सकारात्मक सन्देश अन्तर्राष्ट्रियकरण गर्नमा ठुलो टेवा पुर्याउंछ।यस्ता कार्यक्रमको मूल उदेश्य देशका सुन्दर, अनगिन्ती सम्भावना र आशा बोकेका स्थानहरुलाई अन्तर्राष्ट्रिय समुदायसंग परिचित गराउनु हो।

सगरमाथा, जातीय तथा सांस्कृतिक विविधता, मौलिक संस्कृति, भेषभुषा, रहनसहन, धार्मिक सहिष्णुता आदिको माध्यमबाट पर्यटकमा अमिट छाप तथा सकारात्मक सन्देश प्रवाह गर्नु पर्यटन बर्षको मुख्य उदेश्य हुनुपर्छ। तर, पर्यटन बर्षको सफलताको मापन गर्ने तरिकाले पनि पर्यटनको गुणस्तरीयता खस्किने सम्भावना बढाउँछ। नेपाल सरकारले संख्यात्मक पर्यटनलाई बढी महत्व दिएको देखिन्छ। जसरि पनि दस लाख पर्यटक भित्र्याउने सरकारी मनोकांक्षाले नकारात्मक प्रभाव पार्ने हुने त होइन? सरकार माग्नेहरुको संख्या बढ्याएर दस लाख पर्यटक पुर्याउने लछ्यमा छ? छैन भने वसन्तपुर वसन्तपुर जस्तै देखिनुपर्छ। वसन्तपुर कुनै मगन्ते संग्रहालय होइन। मगंतेहरुको अपमान गर्न खोजिएको होइन। तर, हरेक कुराको हद हुन्छ, हरेक कुराको सिमाना हुन्छ। हो, असहाय तथा अपांगहरुले बाँच्नलाई माग्दा त्यति अस्वाभाविक नहोला। तर, जसका हात पाखुरा चल्छन, जसले काम गरेर खान सक्छन, उनीहरुले मागेको सुहाउँदैन। अपाङ्ग तथा असहायहरुले माग्दा जोकोहीले सहयोग गर्छ र आफुसक्दो सहयोग गर्नु पनि पर्छ। तर, माग्नु आफ्नो व्यवसाय बनाएकाहरुलाई पैसा टक्राउन कसैको पनि मन खुल्दैन। सछ्यम तर माग्ने व्यवसाय अंगालेकाहरुलाई सरकारले पनि हटाउने साहस देखाउना सक्नुपर्छ। होइन भने यही पर्यटन बर्षले काठमाडौँको परिभाषासमेत बदल्न सक्ने जोखिम उत्पन्न भएको छ। यस्तै अवस्था रहिरहने हो भने काठमाडौँ अब मन्दिरै मन्दिरको सहर होइन, माग्ने नै माग्ने सहर बन्न सक्छ।

पर्यटकहरुको संख्या भन्दा माग्नेहरुको संख्या बढी देख्दा वसन्तपुर कदापी मुस्कुराउन सक्दैन। त्यसैले माग्नेहरुको सहज विस्थापनको बातावरण नेपाल सरकारले मिलाउनुपर्छ। पर्यटकको फ्ल्यासमा वसन्तपुर खुलेर मुस्कुराउन पाउनुपर्छ र त्यो माग्नेहरुको विस्थापन वा स्थानान्तरणबाट मात्र सम्भव छ। त्यसो भन्दैमा नेपालमा पर्यटनको आधार वसन्तपुरमात्र होइन। अनगिन्ती आशा र सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरु नेपालमा थुप्रै छन्। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने प्राय पर्यटकको पहिलो रोजाई भने वसन्तपुर नै हुने गर्छ। त्यसैले नेपालको पर्यटनमा वसन्तपुरलाइ कम आँक्न हुदैन। अनि वसन्तपुरमा जस्तै अन्य ठाउँमा पनि माग्नेहरुको हैरानी खप्नुपर्ने बाध्यता पर्यटकहरुको हुने हो भने नेपाल अन्तर्राष्ट्रियरुपमा बदनामी मात्र होइन, कलंकित नै हुनुपर्नेछ। त्यसतर्फ सम्बन्धित निकायले ध्यान केन्द्रित गर्नुपर्छ।

नेपालले पर्यटक बर्ष मनाइरहंदा पर्यटक संख्याको चर्चा चारैतिर छ तर पर्यटकको सुरक्छ्याको चासो कमै उठेको तेखिन्छ। वसन्तपुर वरपर पर्यटकको हात, खुट्टा समाएर ब्यबसायिक माग्नेहरुले पैसा मागेको देख्दा अचम्म लाग्छ। पर्यटक र उनीहरुको बहुमूल्य सामानको सुरक्छ्या गर्नु पर्दैन र हामीले? उनीहरुका बहुमूल्य क्यामेराहरुको व अन्य सामानहरु चोरिए या टुटफुट भए जवाफदेही को हुने? उनीहरुलाई आश्वस्त कसले पार्ने? यी सबै प्रश्नको जवाफ सम्बन्धित निकायले दिनैपर्छ।



नोट: यो लेख माघ ३, २०६७ मा नागरिक दैनिकमा छापिएको थियो।
विजय कुमार पाण्डे
काठमाडौँ

No comments :

Post a Comment