“म
भाग्यमानी होइन, अभागी पनि होइन। केही असहज लाग्ने कुरा सहज
हासिल गरेको छु, केही सहज हासिल हुन्छन् झैँ लाग्ने
कुरामा असहजता आएर निन्याउरो मुख लगाएको छु। मलाइ मेरा भाग्यमानी साथीहरु अभागी
भन्छन्, अभागी साथीहरु भाग्यमानी भन्छन्। तर म आफूलाइ भाग्यमानी मध्येको एक अभागी ठान्छु” आफ्नै
डायरीबाट…
अस्तिजस्तै लाग्छ कोहि केटी मन पर्यो भने नजिकिन्थें, कुरा
गर्थें, आफू भन्दा जेठी लाग्यो भने आफै साइड लाग्थें
नत्र मन मिल्दासम्म साथ रहिरहन्थें। केही दिन अघि एउटीसँग नजिकिएँ, कुरा गर्यौं, अझै नजिकियौं, घनिष्ठ साथी भयौं, आजकाल कुराहरु दिल खोलेर
गर्छौं अनि एकअर्कालाइ सुन्छौं पनि। यसो मनमनै उनको र मेरो उमेरको तुलना गरें
यस्तो लाग्यो “गए मेरा गाँजा खाने दिन!”। लाग्यो: अब त मेरो पनि बिहे गर्ने उमेर
भइसकेछ। उनीभन्दा त्यस्तो अस्वभाविक जेठो त थिइनँ तर पनि चस्का नमिठो गरेर पस्यो
“त्यो अस्वभाविकता अब धेरै टाढा छैन”।
भन्छन् जिन्दगी सल्काएर राखेको चुरोटको ठुटो जस्तै हो, धुवाँ
बनेर सकिन्छ आखिर तानेपनि नतानेपनि। अब कति बाँकी छ? सल्किराखेको
चुरोटको ठुटो हेर्दा त सजिलै थाहा हुन्छ। तर जिन्दगी! म चौबिस वर्ष सकिएँ तर पनि
थाहा छैन त्यो मेरो जिन्दगीको कति अंश थियो। आधा बाँकि छ या दुइ तिहाइ या तीन
चौथाइ या चुरोटको ठुटोको अन्तिम एक दुइ सर्को जति मात्रै! मलाइ थाहा छैन।
नाम: बोरिस पाण्डे
जन्म: ०९ जनवरी १९९०
स्थान: अर्घातोष, अर्घाखाँची
"साहित्यको विद्यार्थी, कम्प्युटर साइन्स
अध्ययनरत, म्याथम्याटिक्स पढाउँदै।"
रुसका पुर्व राष्ट्रपति बोरिस एल्टसिन १९९० ताका निक्कै
चर्चित थिए। १९९१ मा त रुसको पहिलो राष्ट्रपति नै भए। म जन्मिँदा सायद त्यही
प्रभावले होला मेरो नाम बोरिस राखिएको थियो। पछि स्कुलमा आफै जान्ने
भएर आफ्नो नाम “विजय कुमार पाण्डे” राखेको थिएँ। गाउँका पुराना मान्छेहरु अझै पनि
बोरिस नै भन्छन्। मामाघरतिर चाहिँ मलाइ बैकुण्ठे भनेर बोलाउनुहुन्छ, उक्त नाम मामाघरमा हजुरबाले राखिदिनुभएको हो। बुवा, मम्मी, दिदी, हजुरबा, हजुरआमा
चाहिँ “सानो” भनेर बोलाउनुहुन्छ। विजय कुमारको सुरुवाती दुइ अक्षरबाट साथीहरुले “भी के” भनेर बोलाउँछन्, यति धेरै
नामले नपुगेर मैले अझै अर्को साहित्यिक नाम थपें “पाण्डु राजा”।
अहिलेसम्मको जिन्दगीको दौरानमा साथीहरु पनि प्रशस्तै कमाएँ।
सबैभन्दा नजिकका साथीहरु चाहिँ स्कुल तथा ब्याचलर पढ्दाखेरिका अनि भर्चुअल
दुनियाँबाट चिनेर वास्तविक दुनियाँमा भेटघाट भएका साथीहरु भए। धेरै जसो असल
साथीहरु नै कमाएँ, आक्कल झुक्कल कोहि खराब पात्र निस्किए। असल नियतका तर खराब साथीहरु कमाउनु
पनि अहिलेसम्मको मेरो जिन्दगीको मुख्य सफलता रह्यो। ट्वीटरबाट चिनेका साथीहरु
अहिले मेरा सबैभन्दा नजिकका साथीहरु भएका छन्। उनीहरुसँग यति धेरै नजिकिएँ कि
लाग्छ उनीहरुसँग मैले लुकाएका कुराहरु अब केही बाँकि छैनन् (पारिवारिक कुराहरु
बाहेक)। सफ्टवेयर कम्पनीमा काम गर्ने शिलशिलामा पनि निक्कै मिलनसार तथा प्रोफेसनल
साथीहरु भेट्टाएँ।
चौबिस वर्षको अन्तरालमा बरु नामहरु थप्दै जाँदा आधादर्जन
पुगिसकेछन् तर अरुले “फलानोको छोरोले गरेच ता के रे” भन्ने गरेर
चाहिँ प्रगति गर्न सकेको छैन। एउटा मन भन्छ “प्रगति गर्नको लागि हतार पनि त छैन, उमेर छँदै छ”। अर्को मन भन्छ “त्यतिसारो माखै मार्न नसकेको पनि त होइन, अलिअलि त मारिएकै छ नि!”। ठोस आकार नै नदेखिए पनि प्रगतिका पूर्वाधारहरु
भने बिस्तारै तयार हुँदैछन् जस्तो लाग्छ, मेहनत अनुसार प्रतिफल पक्कै पनि आउला। अहिले आफ्नो वर्तमान
आफैले नियाल्दा त अँध्यारो नै लाग्छ तरपनि अँध्यारोमै भएपनि आँखा
चिम्लेर हेर्दा कताकता उज्यालोको आभाष हुन्छ। जे
होस् मेरा आँखामा ‘म’ हारेको छैन, खराब छैन, निराश छैन अनि सम्भावनाहरु पनि प्रशस्तै छन्।
:)