म चाहन्थें मलाई कसैले गालि गरोस्, झपारोस्.. अझै
कुटोस् पनि! ताकि म एक अबोध बालक जस्तै गरेर रुन सकूँ अनि एक जवानले जस्तो गरेर
कुट्नेवालालाइ भन्न सकूँ “आफ्ना बाबु आमाले पनि कुटेका थिएनन् यार् आजसम्म”!
साँच्चै नै विदेश जाने भनेपछि मम्मीले पीर गर्नुहुन्थ्यो
मैले भन्थें “ह्या काम गर्न जान लागेको हो र मामु! पढ्न जान पो लागेको त”.. पछि त
मम्मीले पनि पीर गर्न छाड्नु भो, अझै भनौं पीर देखाउन छाड्नुभो.. पीर त आफ्नो
सन्तान आफ्नो कोखबाट टाढाको मुलुक जाँदा कुन आमा बाबुको नदुख्दो हो..
मलाई देश छोड्दा सम्म त त्यति पीर लागेको थिएन तर
जब विदेशमा पाइला टेकें तब एक्कासी सबथोक बिरानो लाग्न थाल्यो.. कोरियामा ट्रान्जिट टुर थियो, घुम्दा पनि रत्तिभर रमाइलो लागेन.. क्यालिफोर्नियामा पाइला
टेकें, त्यहाँपनि फगत म एक परदेशी थिएँ.. उस्तै भयो एलपासो र लस क्रुससमा पनि..
लस क्रुससमा नेपाली दाजुहरु थुप्रै नै थिए..
सुरुका दिनहरु नयाँ ठाउँ, नयाँ परिवेश तर नेपाली नेपाली सबै रमाइलो नै लाग्यो..
दिन बित्यो हप्ता बित्यो अनि बल्ल म केही अत्ताल्लिन थालें.. याद कसैको ठोस थिएन!
तर पनि याद आइरहन्थ्यो.. घरि घरको, घरि साथीको, घरि देशको, घरि कसको, घरि कसको..
बेला बेलामा त लाग्थ्यो धन्न जियाफ थिएन, नत्र कसको कसको याद गरिसक्नु! दुख
लाग्थ्यो याद ठोस थिएन, अझै दुख लाग्थ्यो आँसु तरल थिएन.. भित्र भित्र पिरोल्न
थाल्थ्यो, भाव भक्कानिन्थ्यो तर आँखा हल्का रसाउँथे, मूल फुट्न सकेन.. लाग्थ्यो
आँखा जस्तै हुँदो हो मरुभुमी, जहाँ कैयौं मुहानहरु मूल फुट्न खोजेर पनि रुन नसकेका
आँखा जस्तै हल्का रसाएर बिलाउंदाहोलान्!
युनिभर्सिटीमा पनि साथी खासै बनाउन सकिएन..
ओरिन्टेसनको दिन भेटिएका ब्राजिलको मार्कस र नर्वेको टुप्स अरु दिन भेटिएनन्..
भेटिउन् पनि कसरि! एउटा डिपार्टमेन्टबाट अर्को डिपार्टमेन्टसम्मको दूरी नै कत्ति
धेरै टाढा हुन्थ्यो! अझ भनौं एपेक्स कलेज देखि व्हाइट हाउस कलेजसम्म.. क्लासका
खैरेहरू पनि साथि बनाउन वास्ता नगर्ने, आफु अन्तर्मुखी स्वभावको, अन्त्यमा सुरुमा
साथी बन्ने इन्डियन र इरानीहरु नै भए..
कम्प्युटर साइन्सको विद्यार्थी तर पनि नेपाल र
यहाँको पठन पाठन शैली निक्कै फरक थियो.. एसाइन्मेन्ट, क्वीज, प्रोजेक्ट सबैले मलाई
बिस्तारै थिलो-थिलो पार्दै थिए.. कस्तो अचम्म! सबै आफ्ना निजी पीडाहरु घर, परिवार,
साथी अनि देशका याद बनेर पोखिंदै थिए.. एसाइन्मेन्टहरु मिलेर गर्ने साथि थिएनन्,
आफुलाई कसैले नियन्त्रण गर्ने अभिभावक थिएनन्, राति ढिलोसम्म बस्दा सुत्न जा केटा
भनेर हप्काउने बुवा, मम्मी र दिदी थिएनन्! आँसु बिस्तारै आँखा सम्म आइपुग्थे अनि
फर्किहाल्थे, म रुन मात्रै सक्दिनथें..
मैले आफुलाई आफैले अनियनिन्त्रित भएको पाउन थालें,
अझै भनौं अनियन्त्रित भएको नै रुचाउन थालें.. ट्वीटरमा आएर जथाभावी ट्वीट गर्न
थालें ताकि मलाई कसैले गालि गरोस्.. मैले किशोरी, ऋचा, मान्सा आदिलाइ जिस्काउन
थालें, अझ भनौं भेटिने जति सबै केटीलाई जिस्काउन थालें ताकि उनीहरुले “ओए मिस्टर,
माइन्ड योर ल्यांग्ग्वेज” भनुन् तर उनीहरुले मैले जिस्केको भन्ने बुझे र बरु मलाई नै जिस्काउन थाले.. नेपाल छँदा कोहि यस्ता ट्वीटेहरु देखेको थिएँ जसले कोहि केटाले
कोहि केटीलाइ केही लेख्नासाथ स्न्याप्सट राखेर खेदो खन्थे, बोको भन्थे, ब्लक
गर्थे, रिपोर्ट स्पाम गर्थे.. तर कोहि केटाले पनि मलाई बोको भनेनन्, ब्लक गरेनन्,
स्पाम गरेनन्! मलाई गालि खान नपाएकोमा छुक छुक लागिरह्यो.. मेरो लागि अरु विकल्प
नै के थियो र? गालि खान घरमा फोन गरेर बाउआमालाइ जिस्काउनु! दाइ दिदी सँग निहुँ
खोज्नु! त्यो पनि सकिनँ.. जब शनिबार आउन थाल्यो, बिहीबार बेलुका देखि नै शंखमुल
चियाभट्टी याद आउन थाल्थ्यो.. सानोकेटो, सम्धी, ठुलोकेटो, मुक्ति, भाइरस, शुन्ना
गन्दै जाँदा केटाहरु बीस बाइस जना नै पुग्थे, अहिले सबै त्यहिँ आफु मात्रै टाढा!
धन्न गुरुदेबलाई सम्झेर चित्त बुझाउँथें..
यादहरु ठोस थिएनन् तर आँसु अझै तरल भैसकेका
थिएनन्.. ट्वीटरमा निहुँ खोज्दा सबैले जिस्केको भन्ठान्ने, घरमा फोन गरेर जोरी
खोज्न नमिल्ने! विरक्त लागेर आयो अनि एउटा स्टाटस राखें:
यति राति भैसक्दा पनि "ओए केटा सुत्" भन्ने कोहि
छैन... साँच्ची नै परदेशमा आफ्नो देशको जस्तो, घर परिवारको जस्तो आत्मियता कहाँ
भेटिन्छ र!
बिस्तारै घर, परिवार अनि साथिसंगीको यादले ठोस
आकार लिन थाल्यो अनि आँसुको मूल निक्कै बेर थाम्न सकिनँ..
अब बल्ल मनलाइ शान्ति मिलेको आभाष हुँदैछ J
(फोटो सौजन्य: सानोकेटो)
NICE DAI
ReplyDelete:))
ReplyDeleteलगभग 7 महिना पहिला आँफैले लेखेको डाएरी पढे जस्तो भयो मलाई यो ब्लग ..
ReplyDeleteधन्यवाद राजा, तर मैले आफ्नो कथा लेखेको थिएँ, धेरै साथीहरुले आफूसँग पनि मिलेको भने :)) ... अनि तिम्रो डायरी पढ्न पाइएन नि राजा! :)
ReplyDeleteदामी पाण्डु राम्रो लाग्यो ...... अब गएर सुत :) @bibek80
ReplyDeleteधेरै धेरै धन्यवाद विवेक जी... हजुरको कमेन्ट हेर्दा बिहान भइसकेको थियो राजा, त्यसैले अटेर गरेर सुत्न गइनं.. बेलुका फेरि पढेर सुत्नुपर्ला :))
ReplyDeletewow raja heart touching piece yar.. Really loved it...
ReplyDelete