मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Wednesday, April 2, 2014

पुर्पुरो


डल्ली, गोरी, राम्री अनि मोटी अर्थात् “फ्ल्याट ब्युटी”! बल्खु चोकमा उभिएकी ती युवती साँच्चै नै राम्री थिइन्। हामी सेन्ट्रल डिपार्टमेन्ट कीर्तिपुरबाट कम्प्युटर साइन्सको सेमेस्टर एक्जाम दिएर नयाँ बानेश्वर आउने नेपाल यातायात चढ्नकै लागि बल्खुसम्म हिड्दै आएका थियौं। कुरा त अरु के नै हुन्थ्यो गाडी कुरुन्जेल पनि एक्जामकै कुरा थियो। ग्रुपमा म र मेरा अरु चार जना साथी थियौं। मौन सहमति नै मान्नु पर्छ बाटोमा हिंड्दा अपरिचित कोही केटीले जसलाइ पहिले हेर्यो त्यही केटोलाइ उक्त केटी पट्याउने सर्वाधिकार हुन्थ्यो। ती युवतीले मलाइ हेरिन्, उनी मेरै भइन् (काल्पनिक रुपमा) J
 
पाण्डुको पुर्पुरो
गाडी अझै आएको थिएन। गाडी कुरिराखेकै बीचमा अर्को प्रसङ्ग जोडी हालौं: एउटा अति गरिब भरिया थियो। उक्त भरियाले मालिकको भारी बोक्ने काम गर्थ्यो। भरिया भारी बोक्दै साँघुरो गल्लीमा हिडिरहेको थियो। भरिया भारी सहित अघि अघि र उसको मालिक पछि पछि रहेछन। भगवानलाइ उसको गरिबी देखेर दया लागेछ अनि त्यही गल्लीमा भएको मौका पारेर भगवानले सुनको डल्लो उसको अगाडी राखीदिएछन। गरिब भरियाले फुर्ति लगाउँदै मालिकलाइ भनेछ “मालिक! हेर्नुस् यस्ता गल्ली त म आँखा चिम्लेर हिँड्छु”। अनि भरिया आँखा चिम्लंदै हिंडेछ। सुनको डल्लो आखिर मालिकलाइ नै!


गाडी आयो, सबै बसमा चढे। संयोगवश ती युवती पनि सोहि बस कुरेर बसेकी रहिछन। हामी पनि बस तिरै लाग्यौं। हामीमध्ये अन्तिममा बसमा चढ्ने म थिएँ। मेरा साथीहरुले दुइओटा डबल सिट पाइहाले। अब फसाद अरु सिट थिएन म उनिसंगै बस्नुपर्यो (भित्रभित्रै त खुशी नि!)। उनी संगै बसेपनि हाम्रो एक्जामको गफ सकिएको थिएन। हल्का साइड फर्किएर म पनि अलि अलि भएपनि केटाहरु संगै गफ गर्न थालें। के गरुम के गरुम भएछ क्यारे उनी ब्यागबाट कापी निकालेर पढेजस्तो गर्न थालिन्। उनी म प्रति अलिक झुकाव राखेको हो कि भन्ने चाल मैले पाएको थिएँ। केटाहरु मलाई जिस्काउदै थिए। तर पनि केटीसंग त्यति सहजै बोल्ने हिम्मत कहाँ बाट बटुल्नु!

एकान्तकुना हुँदै जाउलाखेल सम्म पुग्दा पनि हामी बोलेनौं। केटाहरुले पाण्डु मख्ख छ, नबोली नबोली बसेको छ भनेर जिस्काउँदै थिए। उनले मुख खोलिहलिन “के को एक्जाम दिएर आउनु भाको?” मलाई हल्का सहज भयो, मैले भनें “कम्प्युटर साइन्स”। उनले कुन कलेज भनेर पनि सोधिहालिन्, मैले केवल उत्तर मात्रै दिएँ “सेन्ट जेभियर्स”। उनले घर कता हो भनेर सोधिन् मैले पनि हल्का ढाँटेर ‘बुटवल’ भनें (खास त अर्घाखांची नि!)। यो फिल्डका धेरैजसोको प्लान त बाहिर जाने हुन्छ नि! उनले कौतुहलता प्रकट गरिन्। मैले पनि आफ्नो प्लान पनि त्यही नै भएको बताएँ। अनि मैले पनि मुख फोरें “तपाइको कुन फ्याकल्टी?” जर्नालिजमकी रहिछन्। उनले थपिन बाहिर नै जाने प्लान छ मेरो पनि। अहिले सम्झिंदा पनि उनको आशय सेम इन्ट्रेस्ट देखाउने नै थियो कि जस्तो लाग्छ मलाई। तर उनी पनि उही मेरो अरु बेला केटी भएन भनेर तड्पिने अनि पाउँदा गुमाउने शैलीको शिकार बनिन् (नेपाली स्ट्राइकरको जस्तो :D )।

सिधै भन्नु पर्दा मेरो पनि उही भरियाकै जस्तो जिन्दगी! नयाँ बानेश्वर आएपछि बसबाट ओर्लें उनको नाम समेत नसोधी। उनले मेरो घर ठेगाना समेत सोधिसकेपछि मैले कम्तिमा उनको नाम र बढीमा उनको फोन नम्बर सोध्नु पर्ने थियो। सुनको डल्लो मालिकले पायो तर “फ्ल्याट ब्युटी” कसले पायो अँ हँ थाहा भएन L
 साला पुर्पुरो मेरो!

No comments :

Post a Comment