मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Thursday, June 5, 2014

पाण्डु रिसर्च ल्यावको “ट्वीट चोरी रोकथाम” अध्ययन प्रतिवेदन

Veekay Pandey, Nepali Twitter Users
ट्वीट चोरिनु गलत हो तर पनि ट्वीट चोर्ने क्रम बढ्दो छ। बिशेष गरि फेसबुक प्रयोगकर्ताहरु ट्वीटरमा उपस्थिति जनाउनका लागि आउने, आफुले ट्वीट नलेख्ने, ट्वीटरका राम्रा राम्रा ट्वीटहरु कपी गरेर फेसबुकमा सार्ने, लाइक बटुल्ने, “वाओ नाइस” भनेर आउने कमेन्टहरुमा थ्याँक्यु थ्यांक्यु भन्दै मख्ख पर्ने र सोहि लोभमा मौका पाउनासाथ ट्वीटरबाट ट्वीटरमै कपी गर्ने प्रवृति बढिरहेको छ। अझै आजभोली त साप्ताहिक र शुक्रबारमा आउने अरुका ट्वीट देखेर आफुले पनि पत्रिकामा नाम छपाउने लोभमा अरुका ट्वीट कपी गरेर पत्रिकासंग सम्बन्धित व्यक्तिलाइ नै मेन्सन गर्ने चलन पनि देखिन थालिएको छ।

पाण्डु रिसर्च ल्यावले औल्याएका ट्वीट चोरी रोकथामका उपायहरु यस प्रकार छन्:

ट्वीट चोरी रोकथामका लागि पत्रिकाहरुले गर्न सक्ने पहलहरु:
  1. पाण्डु रिसर्च ल्याव पत्रिका तथा पत्रिका निकट व्यक्तित्वहरुलाई मेन्सन गरेर आउने ट्वीट पत्रिकामा छाप्ने प्रक्रिया नै गलत छ भन्ने निस्कर्षमा पुगेको छ। प्राय त्यसरी मेन्सन गर्नुको मुख्य कारण ट्वीट छपाउने अभिप्राय नै हो। ट्वीट छपाउने अभिप्रायले ट्वीटरमा आउने ट्वीटर प्रयोगकर्ता वास्तविक ट्वीटर प्रयोगकर्ता नै होइनन्। त्यसरी गलत अभिप्रायले आउने ट्वीट पत्रिकामा किन छाप्ने त? सोंच्न जरुरि छ।

  1. तपाइले कुनै ट्वीट देख्नु भयो, तपाइको ध्यान त्यो ट्वीटले तान्यो र तपाई त्यो ट्वीट पत्रिकामा छाप्न लायक छ भन्ने निस्कर्षमा पुग्नुभयो भने एकपल्ट त्यो ट्वीट कसको ह्यान्डलमा छ उक्त प्रोफाइलमा जानुहोस्। उक्त व्यक्तिका अन्य ट्वीटका प्रकृति कस्ता छन् राम्ररी नियाल्नुहोस्।
तपाइको ध्यान खिचेको त्यही एउटा ट्वीट मात्र राम्रो हो, अरु ट्वीट नेपाली भाषा मै छैनन् वा राम्रा प्रकृतिका छैनन् भने त्यो ट्वीट अरु कसैको बाट चोरिएको पनि हुनसक्छ।


  1. यदि माथि उल्लेख गरिएबमोजिम सबै कुरा ठीक छ भने ट्वीट छाप्नु अगाडी अझै एक पटक ट्वीटर सर्च इन्जिनको पनि प्रयोग गर्नुहोस्। हुन त ट्वीटर सर्च इन्जिन आफैमा त्यति प्रभावकारी सर्च इन्जिन होइन तरपनि ट्वीट चोरी रोकथामका लागि धेरै हद सम्म यो पनि उपयुक्त हुन सक्छ।
यसका लागि तपाइले छाप्ने निस्कर्षमा पुगेको ट्वीटको पुरै (वा आंशिक अंश वा दुवै) कपी गरि ट्वीटरको सर्च बक्समा कपी गरेर सर्च गर्नुहोस्। यसले गर्दा यो ट्वीट अरु क-कसले ट्वीट गरेको छ, कुन कुन मितिमा ट्वीट गरिएको छ सबै हेर्न सकिन्छ अनि तपाइलाई यो ट्वीटको वास्तविक सर्जक को हो थाहा पाउन सजिलो हुन्छ।

माथि औल्याइएका बुंदाहरुमा मात्रै एकपटक ध्यान दिने हो भने धेरै हदसम्म ट्वीट चोरी रोक्न सकिन्छ।


ट्वीट चोरी रोकथामका लागि ट्वीटर प्रयोगकर्ताहरुले गर्न सक्ने पहलहरु:
  1. तपाईले आफ्नै मौलिक ट्वीटहरु मात्रै ट्वीट गर्नुहोस्।
  2. ट्वीट मन परेमा कपी गरेर ट्वीट नगर्नुहोस्। त्यसो गर्नु उचित होइन। यसका लागि ट्वीटरले रिट्वीट र फेव बटन उपलब्ध गराएको छ र ती बटनहरुको काम तपाईलाइ मन परेको ट्वीट ससम्मान आफ्ना फलोअरकहाँ पुर्याउनु हो।
  3. यदि तपाईलाई सिधै रिट्वीट गर्न मन लागेन भने “RT @ट्वीट_वालाको_ह्यान्डल : ट्वीट।।।।।।” गरेर ट्वीट गर्नु भयो भने पनि थोरै मात्र भए पनि वास्तविक ट्वीट सर्जकलाइ सम्मान हुन जान्छ।
  4. यदि तपाइले अरु कसैको ट्वीट चोरी भएको देख्नु भयो भने उक्त ट्वीटको वास्तविक सर्जकलाइ जानकारी गराउनु र ट्वीट चोरी गर्ने व्यक्तिलाइ सम्झाउनु तपाइको धर्म हो। ट्वीट चोर्ने व्यक्तिलाइ सम्झाउंदा सभ्य तरिकाले सम्झाउनु पर्दछ, ट्वीट डिलिट गर्न अनुरोध गर्नुपर्दछ र त्यति गर्दा पनि अटेर गरेमा अरु साथीहरुलाई सहयोगको अपील गरेर सम्झाउन थाल्नु पर्दछ। अझै पनि अटेर गरेमा ट्वीटरमा रिपोर्ट स्प्याम तथा ब्लक अप्सनको प्रयोग गर्नुपर्दछ।


ट्वीट चोर्नु अपराध हो, अरुको ट्वीट चोर्दा अलिकति रिट्वीट आउला, अलिकति तपाइका फलोअर पनि बढ्लान, एकैछिन आनन्द पनि आउला तर चोर्ने बानी परेपछि तपाइको सिर्जनशिलता घट्छ, ट्वीटरमा तपाइलाई चोर भनेर चिनिने छ, आफ्नो फोटो र ह्यान्डल पनि परिवर्तन गर्नुपर्नेछ। त्यसैले विचार गरौँ ट्वीट चोर्दा दीर्घकालीन रुपमा घाटा छ।



नोट: सीमित श्रोत, साधन, समय र परिधिभित्र रहेर गरिएको रिसर्च भएको हुनाले यो प्रतिबेदन कुनै कुनै ठाउमा वास्तविकता भन्दा फरक पनि हुनसक्नेछ।
साथै, यो प्रतिवेदनको सर्वाधिकार पाण्डु रिसर्च ल्यावमा निहित रहनेछ। पाण्डु रिसर्च ल्याबले संकलन गरेको तथ्यांक कहिँ कतै प्रयोग गर्नु परेमा श्रोत खुलाएर मात्र गर्नुपर्नेछ। श्रोत नखुलाएको पाइए अथवा कहिँ कतै अनाधिकृत प्रयोग भएको पाइए कुलकानुनले तोके बमोजिम कडा कारबाही हुनेछ।
पुनश्च: पाण्डु रिसर्च ल्याव स्वायत्त निकाय हो र पाण्डु राजा संग यस संस्थाको कुनै सम्बन्ध छैन।

Pandu Research Lab, Nepali Tweet Sentiment Analysis

© पाण्डु रिसर्च ल्याव,
ट्वीट चोरी रोकथाम अध्ययन प्रतिवेदन २०१४

प्रकाशित मिति: २०१४ जुन ६ तारिख