मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Friday, September 19, 2014

ढकुली २: बैकुण्ठे


बैकुण्ठे बानेश्वरबाट पुतलीसडक जाने गाडीमा थियो। बबरमहल पुगेपछि एउटी आइमाइ गाडीबाट ओर्लिन अगाडी ढोकानेर पुगी। उसले कुर्ताभित्र काखीतिर हात छिराएर बीस रुपैयाँ निकाली। खलाँसीले तीन रुपैयाँ (दुइओटा ढ्याक) फिर्ता गर्यो, उसले बच्चा पिठ्यूँमा बोकेकी थिइ। तीन रुपैयाँको ढ्याक मुखभित्र राखी अनि ओर्ली। ठ्याक्कै ढकुलीको जस्तै बानी! बैकुण्ठेले एकाएक ढकुलीलाइ सम्झियो, छातेटोपी उडाउँदा ढकुली मज्जाले हाँसेको सम्झ्यो, फुटबल हेर्न देउराली गएको सम्झ्यो, उ टोलाउन थाल्यो, अनि आफ्नै पुरानै गाउँमा फर्क्यो।

~~~

कथाले समेटेको गाउँ
दर्दर पानी पर्ने समय सक्कीसकेको थियो। बिस्तारै मकैका बोटहरु पहेंला हुन थालिसकेका थिए। धुम्म परेको बादल, बर्षातको मौसम, घर अगाडिको झुडी सबै कतिबेला छङ्ग उज्यालोले हटाइदेला बैकुण्ठे त्यसै त्यसै दङ्ग पर्थ्यो। महान पर्व दशैँ पनि आउंदै थियो।

बैकुण्ठेले बाटोमा अरु कोहि केटाकेटीलाइ देख्नासाथ सोधीहाल्थ्यो:
 “दशैँ पछी के आउँछ?”
 “त्यार”
“पाडो खाने न्यार” बैकुण्ठेले उत्तर फर्काउँथ्यो। आफू बडो जान्ने भएझैँ दङ्ग पर्थ्यो। अरु केटाकेटीहरु लुसुक्क पर्थे।


दशैँमा सहरबाट काकाकाकी, छिमेकीहरु आऊँथे। उ गाउँ रमाइलो हुने भयो भनेर खुब रमाउँथ्यो। तर पनि अर्को पाटो स्कुल छुट्टी हुने पीरले हल्का निराश हुन्थ्यो। किनकि उसले ढकुलीलाइ देख्न पाउँदैनथ्यो। ढकुली माथि मोटरबाटोतिर बस्थी, उ तल गाउँमा बस्थ्यो। गाउँको धुले बाटो नै किन नहोस् ढकुली सहरमा बस्ने, आफु गाउँमा बस्ने भनेर बेलाबेलामा बैकुण्ठेले मन अमिलो पार्थ्यो।



दशैँको अस्टमीको दिन भीमसेन थानमा ढकुलीहरु पाडो काट्न आउँथे। उसले त्यो आउँछे भन्ने थाहा पाउँथ्यो तर घरबाट निस्कने बाहना बनाउन सक्दैनथ्यो अनि घरमै कक्रकिएर बस्थ्यो। उसले बेलाबेलामा आफू नेवार नभएकोमा थकथकाउँथ्यो। नवमीको दिन छत्रमहाराजको मन्दिरमा भव्य मेला लाग्थ्यो। सबै साथीहरु त्यहिँ आउँथे, उ पनि त्यहिँ आउने आशमा जान्थ्यो। यस्तै गरेर दशैँ सकिन्थ्यो। दशैँपछिको पुर्णिमाको दिन फाप्रेमा सराएँ नाच हुन्थ्यो। अर्घाखांचीको अर्घापछिको सराएँ नाच भव्य हुने ठाउँ फाप्रे नै थियो। फाप्रेमा गएर सराएँ नाच हेर्नु, जेरी र मौसम खानु सबैको प्रचलन थियो।

गाडी सिंहदरबारको जाममा थियो, बैकुण्ठे गाडीको लास्ट सिटमा टोलाइरहेकै थियो। एक तमासले आफ्नै तालमा दुइबर्ष अगाडिको घटना सम्झदै थियो। गाउँबाट सहर छिरेको पनि दुइ बर्ष पुग्नै आँटेको थियो अनि ढकुलीलाइ नदेखेको पनि त्यति नै। अन्तिम पटक उसको र ढकुलीको भेट चुत्राबेशी शान्तिबगैचामा भएको थियो। एसएलसी दिनको लागि सदरमुकाम गएको बेलामा उसको र ढकुलीको चक्कर सतहमै आयो। घर देखि टाढा अरु कसैको प्रवाह नै किन गर्नु र त्यो जवानीमा! शान्ति बगैचामा ढकुलीसँग टाँस्सिएको उसले सम्झियो।

शान्ति बगैचामा घुमिसकेपछि टिकट काउन्टर नजिकैको पसलमा गएर उनीहरुले कोक खाए। बडो बाठो बनेर कोक सधै खाइरहने जस्तो देखाउन बैकुण्ठेले छिटो छिटो सकायो, ढकुलीले बिस्तारै खाइ। मुला खाएर डकार्दा मुख बन्द गर्ने बानी, बैकुण्ठेले कोक डकार्दा पनि मुख बन्द राखिराख्यो। बैकुण्ठे! तोरीको फूल देखिस् ढकुली फेरि खित्का छोडेर हाँसी।

बैकुण्ठे लाजले भुतुक्क भयो। अनि भोलिको लागि एक्जाम तयारी गर्नुपर्छ भन्ने बाहना बनाएर रातो पिरो हुँदै आफू बस्ने होटलतिर लाग्यो। ढकुली पनि हाँस्दै आफ्नो बाटो लागि। हाँसो उ पर पुग्दासम्म रोक्किएन। J

~~~

गाडी बागबजार पुगेर रोक्कियो, उसलाइ पुतलीसडक ओर्लिनु थियो। आफैलाइ खुस्कट ठान्दै बागबजारबाट हिँडेर फेरि पुतलीसडकतिर फर्कियो।

(ढकुली भाग तीन केही हप्तापछि)

6 comments :

  1. आम्मै नि ! ढकुली लाई चिनियो ! पान्डु अर्कै पट्टी सल्क्या भनेको त उता पो
    तर ढकुली जती राम्री त को पो होल र हो #मरीजाम

    ReplyDelete
  2. आफु एस. एल. सी. देखी अलिअली मात्रै भये नि ढकुलीको फ्यान भनेको त यि राजा फ्यानको बाउ रैछन बchचैदेखी

    ReplyDelete
  3. :D हेर न त्याँ कत्ति न थाहा नै भाको जस्तो :पी

    ReplyDelete
  4. पढियो कस्तो मोडतिर पुर्यायौ अब तेस्रो भागको प्रतिक्षामा ;-)

    ReplyDelete
  5. त्यों कुर्ता भित्र काखी तीर हात हालेको खूब याद गर्दो रैछ राजा ले तर राजा त्यों काखी नै हो त ? :पि

    ReplyDelete
  6. धन्यवाद राजा @Narayan Pangeni...
    हाहा यादहरु पछि मिठा हुन्छन्, त्यसैले याद गर्चु ;) @Nischal Nabin.. :))

    ReplyDelete