विजय कुमार जी आज्ञा गर्नुहुन्छ। हे! अस्तव्यस्तमुनी!
एकादेशमा एउटा अभ्यस्त हस्तमुनी नाम गरेका ऋषि बस्दथे। ती ऋषि कस्ता भने कुनै ठेगान नभएका, कहिले चिटिच्याट्ट परि बाटोमा हिंड्दै गरेका भेटिने, कहिले राता राता आँखा गराएर पुल मुन्तिर गाँजा तान्दै गरेका भेटिने, कहिले मुख समेत नधोएर मध्य दिनसम्म आफ्नै कोठाभित्र ओछ्यानमा पल्टेर अँग्रेजी सिरियलहरू हेर्दै गरेको अवस्थामा भेटिने उनको बर्णन गर्न उनकै जन्मदाता आमा र कर्म दाता बाबा लगायतले समेत नसकेको मैले कसरि सक्नु! तर हे अस्तव्यस्तमुनी तिमीले अत्यन्त रुचिसाथ आग्रह गरेकै कारणले उनको बारेमा मेरो ज्ञानबिबेकले भ्याएसम्म वर्णन गर्ने प्रत्यन गर्दछु, ध्यान दिएर सुन।
पृथ्वीलोकका केही खैरा बाहुल्य मान्छेहरुले आजभन्दा एकदमै धेरै वर्ष अगाडि बैशाख, जेठ, असार, साउन लगायतका बाह्र महिनाहरुलाइ रोमन क्यालेण्डर तथा जुलियन क्यालेण्डरलाइ समेत आधार बनाएर जनवरी, फेब्रुअरी, मार्च यवं यवं गरि ठ्याक्कै बाह्र महिनामै आफ्नै किसिमले विभाजन गरे। अब बाह्र महिनालाइ ठ्याक्कै त्यस्तै गरेर विभाजन गरेपछि त नेपाल प्रतिलिपी अधिकार ऐन अनुसार कारबाही हुनसक्छ त्यसो भयो भने हामीहरुको अनर्थ निश्चित छ र त्यसलाइ टार्न हाम्रा दसौं पुस्ताहरुले समग्रमा हजार वर्ष तपस्या गरेपनि मुस्किल पर्छ भन्ने बुझेर ग्रिरोरियन नाम गरेका खैरा ऋषिले विभिन्न किसिमका कपोलकल्पित कथाहरु बनाएर तिनै कथाहरुलाइ वास्तविक देखाउन महत्वपूर्ण तिथिमितिहरू थप्ने क्रममा फेब्रुअरी महिनाको १४ तारिखलाइ भ्यालेन्टाइन दिवस अर्थात प्रेम दिवसका रुपमा मनाउँदा भए। प्रेम दिवस कसरि मनाउने भन्दा बाटो बाटोमा चोक चोकमा चुम्माचाटी गर्दै छलछाम नानाभाती अनेकन अनेकन तरहका तिकडम लगाएर केटाले केटीलाइ केटीले केटालाइ सकेजति आश्वासन देखाएर सके जुनीजुनीलाइ नभए महिना दिनलाइ र त्यति पनि नसके जति सकिन्छ त्यति दिनलाइ प्रेम गर्दा भए। त्यो प्रेम गर्ने शिलशिला चैतमासको डढेलो फैलिएजसरी यसरी फैलियो कि नेपाल लोकमा पनि आइपुग्यो। नेपाल लोकका मानिसहरु झन् खर्रिएका हुनाले त्यो आगो अन्यत्रभन्दा बेशी हुर्हुर भयो।
त्यो बलेको आगो प्रकृति कस्तो त भन्दा हे अस्तव्यस्तमुनी! दनदन दन्केको आगोमा आलु पोलेर खाए पनि मिठो हुने, मकै पोलेर खाए पनि मिठो हुने, पोल्दा पोल्दै डढ्यो भने जतिबेला जहाँ छोड्न पनि सकिने र डढेलो लागेको आगोमा पोलेको हुनाले डढेपनि आफ्नो घरमा डढेको गन्ध नआउने र घरको चुलो पनि जस्ताको तस्तै रहने हुनाले घरका कसैले थाहा नपाउने प्राय निश्चित छ। यस्तो सुवर्ण मौकाको फाइदा उठाउन सक्ने जो कोहीले स्वाद लागुन्जेल बडो आनन्दपूर्वक थरि थरि जातजातिका आलु मकैहरुसँग रमाउँदा भए। यस्तो कुरा थाहा पाएका हस्तमुनीले अब मैले पनि लभ गर्नुपर्यो भनेर अनेकन तपस्या गर्न थाले। तपस्या कस्तो त भन्दा डिएसएलआर क्यामेराले खिचेका फोटोहरु जम्मा गरेर, फेसबुकमा अनेक थरि एकाउन्ट बनाएर, ट्वीटरमा पनि अनेकन तरहका नन्दी भ्रिंगीको स्वरुप ग्रहण गरि ह्याण्डलहरु बनाएर, चोकचोकका चिया पसलमा बसेर त्यहाँको बाटो भएर आवत जावत गर्ने सुन्दरीहरुका अङ्गअङ्गमा आँखा लगाएर आँखामा आँखा जुधाएर विभिन्न थरिका इसारा गर्दै स्त्री खोज्दा भए। तर त्यति तिकडम लगाएर स्त्री खोज्दा पनि केही हात नपरेकोमा एकदम निराश भएर बसेका बखत एउटा नयाँ नम्बरबाट एसएमएस आउँदो भयो "हे लक्काजवान! तिमीबाट म असाध्यै प्रभावित भएँ, साथी बन्ने ठुलो रहर छ, साथी बन्ने भए बधु माग"। त्यति भन्न नपाउँदै लक्काजवान अभ्यस्त हस्तमुनी भन्छन् "हे युवती म साथी बन्न आतुर छु तर एउटा सर्त छ। मान्ने भए मात्र माग्छु"। लौ सर्त सुन:- किस डे मा किस गर्न पाउनु पर्ने, प्रपोज डेमा मैले गरेको प्रपोज अनिवार्य स्वीकार्नुपर्ने, अनि भ्यालेन्टाइन डेमा पनि जोडाजोडी भएर सँगै अँगालो हालेर उठबस गर्नुपर्ने। यसरि तेर्स्याइएका यावत् सर्तहरु सुनी ती सुन्दरी भन्छिन् हे हस्तमुनी तिम्रा ती सर्तहरु मलाइ मन्जुर छन् तर तिमीले पनि रोज डेमा रोज किनिदिनुपर्नेछ, चकलेट डेमा चकलेट किनिदिनुपर्नेछ, टेडी डेमा टेडी किनिदिनुपर्नेछ, मैले जे भन्यो त्यही कुरामा मन्जुर हुनुपर्नेछ। यवं प्रकारले यसरी दुवैका सर्तमा दुवै मन्जुर भएर रहँदा बस्दा भए।
इतिश्री हावापुराणे स्त्रीलम्पटखण्डे किस्ड़ेमाहत्मे विजयकुमार अस्तव्यस्त संवादे प्रणयदिवसो प्रेमकथापूर्ण नाम सबैओऽध्याय : ।। * ।।
इतिश्री हावापुराणे स्त्रीलम्पटखण्डे किस्ड़ेमाहत्मे विजयकुमार अस्तव्यस्त संवादे प्रणयदिवसो प्रेमकथापूर्ण नाम सबैओऽध्याय : ।। * ।।
This comment has been removed by a blog administrator.
ReplyDelete