मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Sunday, October 9, 2016

पोस्टकार्ड


आजजस्तो फेसबुक त्यतिबेला कहाँ थियो र ? सायद जुकरबर्गको दिमागमा स्वरूप धारण गर्न समेत भ्याएको थिएन होला ! म भने १५ वर्षको भइसकेको थिएँ । भदौ लाग्न नपाउँदै मैले दसैँका दिनगन्ती सुरु गर्न थालिसकेको हुन्थें । वर्षाको समय, त्यसमाथि घर वरिपरिको डिलमा लगाएका तितेकरेला, घिरौंला, काँक्राको झ्यालले घर नै अँध्यारो भएको हुन्थ्यो । कुनै दिन आकाशबाट बादल हट्यो भने यत्तिकै जताततै चम्किलो भएझैँ लाग्थ्यो र मैले भन्थें, “दसैँ आउने बेला भयो !” ‘भदौ हो गधा, अहिल्यै आउँछ दसैं ?’ बुबा भन्नुहुन्थ्यो । हजुरबा भने मजस्तै हौसिनुहुन्थ्यो र भन्नुहुन्थ्यो, “ल अब आउन लाग्यो दसैँ !” 

दिन बित्दै जान्थ्यो, घर अगाडिका मकै छिप्पिँदै जान्थे । हरेक दिन पोलेर खाँदा खाँदै विस्तारै मकैको झुँडी पनि सकिँदै जान्थ्यो, घर उज्यालो हुँदै जान्थ्यो, अनि दसैँ आँगनमै आइपुग्थ्यो  हरेक साल । 


दसैँ बिदा सुरु हुने अघिल्लो दिन क्लासका केटीहरुले पोस्टकार्ड दिए । मैले त पोस्टकार्ड देलान् भन्ने सोचेको पनि थिइनँ । दसैँ त अघिल्ला सालहरुमा पनि त आउँथ्यो, पोस्टकार्ड भने पहिलोपटक आयो ! अब त पोस्टकार्ड आफूले पनि दिनैपर्यो । अलि अघिल्लो दिन दिएका भए त मैले पनि उनीहरुलाई शुभकामना दिने समय पाउँथें नि ! मलाई उनीहरुसँग रिस उठेजस्तो भयो, कम्तीमा आज बिहानै दिएका भए पनि त हुन्थ्यो । स्कुल नजिकैको सुवास स्टेसनरीमा गएर पोस्टकार्ड ल्याएर सबैमा एउटै सन्देश छिटो–छिटो लेखेर फिर्ता गरिहाल्थें । मलाई उनीहरुको पोस्टकार्ड ऋणको भारी बोकेभन्दा गह्रौं लाग्यो । सायद त्यति धेरै पोस्टकार्ड एकैपटक पाएको जिन्दगीमा पहिलोपटक थियो । केटीहरुले त पोस्टकार्ड दिइहाले, मलाई भने आफूले कहिले दिने होला भन्ने भैसक्यो । नदिउँ भने ‘कस्तो होला ! त्यै पोस्टकार्ड पनि दिएन’ भन्लान् भन्ने पीर, दिउँ भने भोलिदेखि दसैँ बिदा छ । अब उनीहरुलाई मैले कहिले र कसरी दिने होला ?


दसैँको अर्को रमाइलो पक्ष बुटवल काठमाडौँतिर गएका काका–काकीहरु, गाउँले दाइदिदीहरु आउन मिलेसम्म प्रायः सबै आउँथे । बिदेसिएकाहरु त एक महिना अगाडिदेखि नै आउने क्रम सुरु हुन्थ्यो । गाउँमा छुट्टै चहलपहल, छुट्टै रमाइलो हुन्थ्यो । घरदेखि करिब १५ मिनेट टाढा हटिया बजार थियो । त्यहाँ हाट कहिल्यै लागेन तर बजारको नामै हटिया बजार । दिनेश अंकल बुटवलबाट आएको अर्को दिनै ल हिँड् केटा भनेर हटिया बजारतिर लिएर जानुहुन्थ्यो । फर्कँदा म एक–डेढ दर्जन इगल कापी र दुई–तीनवटा चेलपार्क मसी लिएर फर्कन्थें । दसैँमा दिन नपाए पनि तिहारसम्म त पक्कै दिउँला भनेर त्यै मौकामा आफूलाई सबैभन्दा मनपरेका पोस्टकार्डहरु सुटुक्क साहुजीलाई दिएँ, अनि कापीसँगै राखेर लिएर आएँ । 

मीना र अम्बिका मेरै क्लासमा पढ्थे । उनीहरुको र हाम्रो घर एउटै गाउँमा थियो । सही आइडिया ! उनीहरुलाई लगेर दिनुपर्यो । अनि उनीहरुले नै पोस्ट कार्डमा ज–जसको नाम लेखिएको छ, उनीहरुलाई बाँड्दििन्छन् । आखिर केटी–केटीहरुको त दसैँको बीचमा पनि भेट होला नि 



एउटै गाउँ, नुन तेल सकिँदा ऐंचोपैंचो गर्ने ठाउँमा केको पोस्टकार्ड आदानप्रदान हुन्थ्यो र ! उनीहरुले मलाई पोस्टकार्ड दिएका थिएनन्, तर मैलेचाहिँ उनीहरुलाई पनि पोस्टकार्ड दिने विचार गरें फकाउनकै लागि । सबै पोस्टकार्डहरु लगभग उस्तै–उस्तै थिए, सबैमा एउटै शुभकामना सन्देश थियो । तर, ढकुलीकोमा चाहिँ सकेसम्म ओझिला शुभकामनाका शब्दहरु खाँदेको थिएँ । अनि पोस्टकार्डमा भएको फूल अरु धेरै आकर्षक थियो, ऊ खास लाग्थी । 



मीनालाई पोस्टकार्ड दिएँ, लिई । अरुलाई पनि लेखेको छु, उनीहरुलाई पनि तैंले नै देन है भनेर भनें । तेरा केटीहरुलाई तैं दे भन्दै उडाउन थाली । अम्बिकाले पनि त्यसै भनी । मलाई असहज महसुस भयो र यत्तिकैमा घर फर्कें । संगीताको घर केही टाढा तर मोटर बाटोकै छेउमा थियो । यसो सोचें, उसलाई नै दिँदा सबैले दसैँअगाडि नै मेरो शुभकामना पाउँछन् । उसको र मेरो पानी भर्ने पँधेरो एकै ठाउँमा थियो । पानी भर्न आउली नि, त्यै बेला भेटेर दिनुपर्ला । म दिनको ४–५ पटक पानी लिन भनेर पँधेरो जान्थें ताकि उसलाइ भेट्न सकूँ । करिब दुई दिन पोस्टकार्ड पाइन्टको गोजीमै रह्यो ।



भेट भएन । 

जानुपर्यो उसकै घर । 

घरमा उसको भाइ थियो, संगीता कतै गएकी हुनुपर्छ । उसको भाइलाई कसरी यो चिठी तेरो दिदीलाई दिनु है भन्नु ! बजारका केटाहरु बोलाएर कुट्ला भनेर हल्का डर लाग्यो । तर, आँट बटुलेर मेरा साथीहरुको लागि ग्रिटिङ कार्ड बनाएको छु, संगीतालाई दिनु है भनें । उसले हुन्छ दाइ भन्यो । म राहतको सास फेरेर निस्कें ।

सोचें– तिहारमा दिएको भए पनि त भइहाल्थ्यो नि ! अहिल्यै दिनुपर्ने के हतार थियो र ? तर जे गरें ठीकै गरें भन्दै घर फर्कें ।

म त जतिबेला पनि ढकुलीकै बारेमा पो सोच्ने भइसकेको रहेंछु । उमेरै त्यस्तै भएर पो हो कि! दसैँभरि त पोस्टकार्डहरु सिरानीमुनी नै लुकाएर राख्दा पनि अप्ठ्यारो लागेन । घरमा कसैले देख्नुभयो भने पनि आजकालकै शुभकामना हो, त्यसैले राखेको होला भन्ने सोच्नुहुन्छ भनेर निर्धक्क थिएँ । तर दसैँपछि भने के गर्ने के गर्ने भयो । दसैँको शुभकामना भएको पोस्टकार्डको औचित्य दसैँपछि सकिने भएकाले च्यातेर फालौं कि भन्ने विचार आयो । तर च्यात्न मनले दिएन, राख्न डरले दिएन । फेरि एकएक गरेर सबै पोस्टकार्डहरु नियाल्दै गएँ । ढकुलीको पोस्टकार्ड आएपछि भने च्यातेर फाल्न सक्छु जस्तो नै लागेन । 
लुकाएजस्तो पनि नहुने, अरुले देख्दा पनि लाज नहुनेजसरि कसरी राख्ने होला त ! केही आइडिया त लगाउनै पर्छ । 

मैले आफू सुत्ने खाटको माथिपट्टी निगालाका टुक्राहरु धागोले उनेर अक्टाहेड्रोन बनाएर झुण्ड्याएको थिएँ । त्यसमै सजाएर राख्दा राम्रो देखियो । अब अरुले हेर्दा त्यहाँ अक्टाहेड्रोन र साथीहरुले पठाएको पोस्टकार्ड देख्नुहुन्थ्यो, मैले हेर्दा ढकुलीको पोस्टकार्ड देख्थेँ । 

दसैं सकियो, तिहार सकियो । 
समय चलि नै रह्यो । 
म उच्च शिक्षाको लागि काठमाडौँ लागेँ, सबै साथीहरु आ–आफ्नै मेसोमा लागे । 

समय त यसरी दौडिरहेको रहेछ, जसरी म चढेको बस काठमाडौँबाट तम्घासतिर हुत्तिँदै थियो । म दसैँ मनाउन घर जाँदै थिएँ ।
गाउँ जाँदा गाउँमा दसैं आइसकेको थियो । गाउँभरि बारीका मकै काटिसकेका रहेछन् । कतै गहुँ पनि छरिसकेका थिए, कतै भने छर्न बाँकी नै थियो । तर, हरेक दिन पोलेर खाँदा खाँदै विस्तारै सकिँदै जाने घर अगाडिको मकैको झुँडी जस्ताको तस्तै थियो । म गाउँमा छँदा सबैभन्दा पहिला त्यहीँका मकै सकिन्थे । यसपालि भने बारीका मकै सकिँदा पनि त्यहाँ जस्ताको तस्तै थिए ! छोराछोरी काठमाडौँबाट आएपछि खालान् भनेर राखिदिनुभएको रहेछ । जिनो भैसकेका मकै पोलेर खाँदा पेटसँगै मेरो मन पनि भरियो । 

घरको भर्याङ चढेर म आफू सुत्ने कोठामा गएँ । अनि खाटमाथि झुण्ड्याएर राखेको पोस्टकार्डतिर हेरें । त्यहाँ त केही पनि थिएन, कतै खसेको होला भनेर मैले यताउति हेरें, भेटिनँ । अनि एउटा पुरानो दराज जहाँ सर्टका टाँक, काँक्रा तितेकरेलाका आदिका बीउ, पुराना क्यासेटका रिल र अरु काम नलाग्ने सामान मात्र राखिएको हुन्थ्यो, त्यहाँ गएर हेरें, त्यता पनि थिएन । अनि मम्मीलाई सोधें, भन्नुभयो ‘केटाकेटीहरुले चलाए होलान् ।’ सायद कसैले च्यातेछ, मेरो मन खिन्न भयो । अनि प्रश्न उब्जियो, ढकुलीसँग मैले पठाएको पोस्टकार्ड होला कि नाइँ ?

नोट: मेरो यो लेख बाह्रखरीमा २०७३ असोज २३ आइतबार १३:५१:४५ मा प्रकाशित भएको थियो :)

3 comments :