मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Thursday, March 8, 2012

पायोनियर पीडा

आइ. टी. पढेर पनि, अस्पष्ट छ जीन्दगी
जागिर गरेर पनि, दु:खकष्ट छ जीन्दगी।
कोही बुझेर त कोही बुझ्नै नसकेर
लाग्नेहरुको यहाँ, छरपष्ट छ जीन्दगी।।

अर्धनिद्रामै अलार्म बजेको पत्तो पाउछु। 'यति राति कसले लगायो अलार्म' होस् खुलेपछि झोक चल्छ। सिरक बाहिर टाउको झिकेपछि पो थाहा भयो आफ्नै रहेछ। राति सुतेको दुइ घण्टा भएजस्तो लाग्दैन, कोठामै घाम परिसकेछ। 'आइ एम  प्रोग्रामर, आइ ह्याव नो लाइफ' यही सम्झिएरै जुरुक्क उठ्छु। सुरुमा त प्रोग्रामिंग भन्ने बित्तिकै जीउ सिरिङ्ग हुन्थ्यो तर आजकल बानी परिसक्यो। अझै पनि लाग्छ बि. एस्सी. सि. एस. आइ. टी. को अनिबार्य रिक्क्वाएरमेन्ट नभईदिएको भए आजीवन प्रोग्रामिंग बाट टाढा रहन्थे। इन्टर्नसिप ताका कोडमा रुमल्लिँदा साथीहरुलाई भन्थें "कोडिंग गरेर खाईँदैन केटा हो"। "खाए खा नखाए घिच" त्यस्तै भएपछि मिठै लाग्नथाल्यो।

आफु त सिनियर ब्याच परियो कम्प्युटर साइन्सको! कोर्स जोइन गरेपछि यसको स्कोप अरुलाई बताउँदैमा हैरान। "ए जव त फाला फाल्!" सबैलाई यसै भन्थें। सिनियर भइसकेपछि आफ्नो कोर्सको तारिफ गर्नु र गफ उडाउनुको उत्कृष्ट नमुना थियो त्यो। कोर्स सकेपछि एक दिन पनि बेरोजगार बस्नु त परेन तर तलब चाहिँ "आम्दनी ८ आना खर्च रुपैयाँ"। तलब बुझेपछी पैसा थाहै नपाई झ्वाम्। लौ केटा हो चीयर्स भन्दा भन्दै खल्ती रित्तिएको पत्तो नपाईने। एउटा हातले स्वाइँय गिलास रित्याएर अर्को हातको बाहुलाले स्वाट्ट जुँगा पुछ्ने बेलामा मात्र जागिरको मज्जा पाइयो। अरु बेला चाहिँ रक्सी धोकेको अर्को दिन टाउको दुख्या जस्तो सधैँ टाउको दुख्या दुख्यै।

"काम छैन केटा, अरु ठाउँमा एप्लाइ गर्" प्रोग्रामिंग दिमाग घुम्न के बेर्! कुरा ठिकै हो, जव पोर्टल हेर्दै एप्लाइका एप्लाइ। योग्यता जे माग्छ, तेही अनुसार बायोडाटा चेन्ज! कम्पनीले बायोडाटा पठाएपछी इन्टरभिउमा बोलाईहाल्ने। काम गर्दै गरेको कम्पनीमा बिदा माग्दैमा हैरान्। तर बिदा माग्ने बाहनाचाहिँ जति पनि फुर्दा रहेछन्।


आज त इन्टरभिउ! मन त्यसै फुरुङ्ग थियो। मानौं कि इन्टरभिउमा बोलाउना साथ जव पक्का, पैसा आफैले भनेजति!! छिट्टै जाने नि इन्टरभिउमा मेरो के जान्छ र! बोलाएको समयभन्दा १५ मिनेट अगाडि नै पुगें म। एक छिन बस्न भनेपछी म त्यतै बसेँ। आधा घण्टा बितिसक्यो इन्टरभ्यूको तर्खर छैन, मानौं कि उनीहरुले भ्याकेन्सी नखोलेर म नै जागिर माग्न गएको जस्तो! रिसको पारा तातिसक्यो के गर्नु "कन्ट्रोल योरसेल्फ्!"।।

तपाईंसँग त अहिले पनि गर्लफ्रेन्ड रैछ त! किन मलाई प्रपोज गर्नुभएको? इन्टरभिउ दिँदा एच्. . म्यानेजर को प्रश्न थियो त्यो। लौ फसाद्, अन्कनाउँदै मैले भनेँ "नयाँ काम गर्न पाइएन त्यसैले"। खास कुरा त अर्कै थियो तर भन्न भएन। तर एच्. . को सौन्दर्यता पनि कम्ताको थिएन। एच्. .को सौन्दर्यतामै लीप्त भइरहेकै बेला त्यही मधुर स्वर कानमा पर्यो "काम त यहाँ पनि पुरानै हो गर्नुहुन्छ त ?"  खिस्स हाँसे अनि फर्केँ।

अब कुरा छिमेकिको गरौँउसले त कम्प्युटर पढ्छ रे!” सबै यसै भन्छन्। मानौं कि म कम्प्युटरमा पोख्त छु सिडी नचले म, इन्टल नभए म, कम्प्युटर फर्रम्याट म। कहिलेकाहीँ मैले पनि मिलाउन नसके यत्रो कम्प्युटर पढेर पनि गर्न सकेन! फन्त नपर्ने भए मैले जान्याथेँ!! के पढेको हो, के काममा दक्ष्यता हासिल गरेको हो बुझ्दै नबुझी काम लगाउने प्रबृतिको बिकास भएको देख्दा चित्त दुखेर आउँछ। हुन पनि हो, ईन्जिनियरिङ भन्ने बितिकै घरको नक्सा बनाउने सम्झिने, डाक्टर भन्ने बितिकै मेडिकल डाक्टर बुझ्ने अनि अरु विषय पढेकोलाई त मान्छे नै नगन्ने प्रबृतिको पराकाष्ठा देख्दा कहिलेकाहीँ त लाग्छ यत्रो खर्च गरेर पढ्नु भन्दा एस. एल. सी. गरेर विदेश जानु जाति। यदि पैसा कमाउनु मात्रै हेर्ने हो, इज्जत नहेर्ने हो भने त आजसम्म दुबइ, कतार गएर घर फर्केर घरजम पनि गरिसकिन्थ्यो होला। "पढेर पनि त के यत्राको इज्जत मिल्या छ र!" फेरी मेरो मन भुटभुटिन्छ। अनि सम्झिन्छु बरु यो कलकलाउँदो जवानीमा भुन्टेको बाउ बन्नुको मज्जा नै बेग्लै हुन्थ्यो होला सायद!!

पढ्ने बेलामा नपढौं पास हुन गाह्रो, पढ्ने बेलामा पढ्यो लभ गर्न फुर्सद नै हुँदैन। पास भइसकेपछी पनि फेरी जागिर पाउन गाह्रो। जागिर गरेर सेटल हुँदा खेरी बिहे गर्ने केटी पाउन गाह्रो। थुक्क साला अभावै अभावको जीन्दगी!!


राम्ररी नसुतेको पनि धेरै भयो क्यारे! पुरा निद्रा सुतेको दिन सम्झन पनि धौ धौ पर्न थालेछ। मनमा नाना थरी चिन्ता छ,  कता राम्रो जव पाइएला , कहिले घरबार जमाइएला आदि आदि। ब्याचलर पढेर त सकियो अब जिन्दगीले कसरी कोल्टे फेर्ने हो हेर्न बाँकी नै छ। बाहिर उच्च शिक्षाको लागी तयारी पनि त गर्नैपर्‍यो, भित्री मनले भन्छ "नेपालमा मास्टर्स त मरे पनि गर्दिनँ "।  काठमाडौंको गल्लिमा सधैँ कति लखर लखर गर्नु, एउटा भट्भटे पनि किन्नु छ। थोत्रै भएपनि आफ्नै बाइकमा राम्री युबती राखेर झ्याप्प ब्रेक लगाउँदा कस्तो होला अहिले बयान गर्न सक्दिँन।

आइ. टी. पढेपछि नयाँ नयाँ प्रबिधिसँग पनि घुलमिल हुनैपर्‍यो। आज एक प्रबिधि आयो, बल्ल तल्ल त्यसमा घुल्न नपाउँदै अर्कोले बिस्थापित गरिसक्छ। नयाँ नयाँ प्रबिधी भित्रेको भित्रै छ, आफु भने अझै बाजेको पालाको मोबाईल नै प्यारो मान्नु पर्ने बाध्यता! थुक्क जिन्दगी!!

अब त समय पनि घर्किन आँटेछ, फेरी अर्को इन्टरभ्यूमा जानु छ, बाँकि कुरा बाँकि अंकमा। 

अन्त्यमा,
आइ. टी. पढेर हतास, भएको सुहाउँदैन
हिम्मत हारेर एक्लै, गएको सुहाउदैन।
लानुछ देशलाई, आफु सँग सँगै

आफु पछाडि राष्ट्र, रहेको सुहाउदैन।।

(Note: This article has been published on CSIT eZine, 2012)

No comments :

Post a Comment